रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद: प्रधानमन्त्री
काठमाडाैं | बैशाख १९, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।
आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ ।
नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”
प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ ।
मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।”
भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

